Techie IT
Samayabaddha
सोमबार, २ चैत्र, २०८२

युद्ध तनावबीच पनि फागुनमा ५२ हजार नेपाली विदेशिए


काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएका छन्। तीमध्ये ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ३ सय ९२ महिला रहेका छन्।

तथ्यांक अनुसार २८ हजार ३ सय ८३ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्।

यसबीच इरान, अमेरिका र इजरायलबीचको युद्धका कारण मध्यपूर्व क्षेत्रमा सुरक्षा जोखिम बढेपछि सरकारले खाडी तथा अन्य केही देशमा श्रम स्वीकृति अस्थायी रूपमा रोकेको छ। युद्ध सुरु भएको १७ दिन बितिसकेको छ र इरानले विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ। यसले यूएई, कतार, साउदी अरेबिया, ओमान र बहराइनमा रहेका नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढाएको छ।

श्रममन्त्रीस्तरीय फागुन १७ गतेको निर्णयअनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा अर्को सूचना जारी नभएसम्म श्रम स्वीकृति तथा नवीकरण स्थगन गरिएको छ।

फागुन महिनामा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन्, जहाँ १२ हजार ६ सय १ जना पुगेका छन्। त्यसपछि यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ र साउदी अरेबियामा ६ हजार २ सय २५ जना श्रम स्वीकृति लिएर गएका छन्।

फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिएकाहरू विदेश गएकाले यो महिनामा पनि विदेशिनेको संख्या उल्लेख्य देखिएको हो।

यसअघि माघमा ७० हजार ५ सय ३, पुसमा ६२ हजार ५ सय ५९ र मंसिरमा ६५ हजार ७ सय ५ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट