मूल जडको खोजी गर्ने कि, सतही पारामा अघि बढ्ने ?
काभ्रे । काभ्रे । काभ्रे कुभिण्डेका पुराना माओवादी नेता ऋषिराम बन्जराले पार्टी नराम्ररी पराजित हुनुमा भूँइ तहबाट कारणहरु उजागर गरेका छन् । माओवादी जनयुद्धमा जेलनेल, यातना सबै भोगेर आएका काभ्रे कुभिण्डेका बन्जाराले कारण बिना कार्य नहुने बताउँदै मूल जडको खोजी गर्ने कि, सतही पारामा अघि बढ्ने ? भन्ने नेतृत्वलाई प्रश्न गरेका छन् ।
उनले फागुन २१ को निर्वाचनमा जनयुद्धका सहिद परिवारहरुले नै विपक्षी दललाई भोट हालेको बताएका छन् । जनयुद्धका शहीद परिवारहरु बिपक्षी दलको चुनावी मोर्चामा सहभागी मात्र भएनन् बुथ एजेन्ट भएरै बसेको उनले खुलासा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा आज एक पोष्ट गर्दै स्थानीय सरकारको नगर प्रमुख तथा वडा सरकार पनि माओवादीकै भएको ठाउँमा सहिद परिवार मध्यका झण्डै आधाजसोले बिपक्षलाई मत दिएको बताएका छन् । एक जना शहीद परिवारका वृद्ध बुबाले त ‘माओवादीका ठालू’हरुलाई तह लगाउन यस्तो गर्नु परेको भनेर जंगिदै गरेको पनि उनले सार्वजनिक गरेका छन् ।
नेता बन्जाराले पार्टी केन्द्रमा भोट नहाल्ने नेताहरूलाई कारवाही गर्ने भन्ने सुनेको भन्दै मूल जडको खोजी गर्ने कि, सतही पारामा अघि बढ्ने ? भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।
उनले लेखेको स्टाटस जस्ताको तस्तैः
२०८२ को चुनावी नतिजा आयो । राजनीतिमा चासो हुनेहरू अचम्ममा परेका छन् । किन यसो भयो भनेर यस्तो अवस्था आउनुको पछाडिका कारणहरू खोज्दै छन् । अरुहरू ठूलाहरूले ठूला कारण खोज्लान । म सानु मान्छे आफ्नै भुँइ खोतल्छु ।
जनयुद्धको बेला लगानी, त्याग, तपस्या र बलिदानको हिसाबले पूर्बको रोल्पा भनेर चिनिएको जिल्ला र पुर्बको थवाङ् भनेर चिनिएको मेरो गाउँ कुभिण्डेः २१ जना सहिद र १ बेपत्ताको गाउँ हो । यहाँबाट उल्लेख्य भोट गयो तारा चिन्ह भन्दा बाहिर । तितो सत्य हो यो ।
यहाँका सहिद परिवारले बिपक्षी दलको चुनावी मोर्चामा सहभागी भए । बिपक्षीदलको बुथ एजेन्ट बसे । विपक्षी दलले उल्लेख्य भोट आफ्नो पक्षमा पार्न सफल भए । हामी हार्न विवश भयौं !
स्थानीय सरकारका नगर प्रमुख हाम्रै पार्टीका र यही गाउँका हुन् र वडा सरकार पनि हाम्रै पार्टीको छ । यस्तो अवस्था हुँदा हुँदै पनि अन्यको कुरा पर राखौं, सहिद परिवार मध्यका झण्डै आधाजसोले बिपक्षलाई मत दिए । एक जना सहिदका बुबाले त यी टाउकेका ढाड सेक्नु पर्छ भन्दै लाठो बोकेर जाइ लागे । अरूले लाठो खोसेर फाल्दै सम्झाउनु पर्यो ।
बिषयहरू चानचुन बनेको छैनन् । खोतलेर सकिने स्थिति छैन । पार्टी केन्द्रमा भोट नहाल्ने नेताहरूलाई कारवाही गर्ने रे भन्ने सुनेको छु । यस्तो सुन्दै गर्दा मेरो सानो चेतनाले भन्छ, कारण बिना कार्य हुँदैन । मूल जडको खोजी गर्ने कि, सतही पारामा अघि बढ्ने ?
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया