Techie IT
Samayabaddha
आईतबार, १५ चैत्र, २०८२

निर्वाचन परिणाम ‘अस्वभाविक र जादुमय’ : केपी शर्मा ओली


काठमाडौँ । केपी शर्मा ओली ले हालै सम्पन्न निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय’ भएको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष ओलीले पार्टी आकारमा सानो भएको भन्दै चिन्ता नगर्न सांसदहरूलाई सुझाव दिएका छन्।

उनले निर्वाचनमा आफ्नो पार्टीविरुद्ध ‘सम्पूर्ण प्रहार केन्द्रित’ गरिएको आरोप लगाउँदै विभिन्न शक्तिहरूबाट विपक्षीलाई सहयोग पुगेको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ संकेत गर्दै ओलीले उनीहरूलाई ‘धेरैतिरबाट सहयोग’ भएको टिप्पणी पनि गरे।

ओलीले भने, “निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। यो परिणाम अनपेक्षित र अपत्यारिलो छ। हाम्रो विरुद्ध असभ्य, अश्लील, गालीगलौज र कुप्रचार गरियो। तर हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन। सामाजिक सञ्जालमा पनि हामी प्रभावकारी रूपमा प्रस्तुत हुन सकेनौं।”

उनले पार्टीभित्र ‘डटेर सामना गर्ने’ संस्कार कमजोर भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्नुपर्ने बताए।

यस क्रममा ओलीले महाभारत को प्रसंग उल्लेख गर्दै कौरव–पाण्डव युद्धसँग तुलना गरे। “कौरवको सेना ठूलो थियो, पाण्डवको सानो। तर अन्ततः जित सत्यकै पक्षमा भयो,” उनले भने, “हामी पनि सत्य र राष्ट्रिय गौरवको पक्षमा उभिएका छौं, अन्ततः जित हाम्रो पक्षमा हुनेछ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट