Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

घरजग्गा बजारमा सुधारका संकेत, बागमतीमा कारोबार मूल्य सबैभन्दा उच्च


काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले देशको घरजग्गा बजार विस्तारै सुधारतर्फ उन्मुख भएको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म आइपुग्दा घरजग्गा कारोबार संख्या अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

‘नेपालमा घरजग्गा बजारको अवस्था’ सम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा कुल ४ लाख ५६ हजार घरजग्गा किनबेच भएका छन्। यसले अघिल्लो समयको मन्दीपछि बजार पुनः चलायमान हुँदै गएको संकेत दिएको छ।

प्रदेशगत रूपमा हेर्दा कारोबार संख्या र क्षेत्रफलका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ। त्यसपछि लुम्बिनी र कोशी प्रदेशमा बढी कारोबार भएको देखिन्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार न्यून रहेको प्रतिवेदनले देखाएको छ।

यद्यपि कारोबार संख्यामा मधेस अगाडि भए पनि कुल कारोबार मूल्यका हिसाबले बागमती प्रदेश शीर्ष स्थानमा छ। यहाँ जग्गाको मूल्य उच्च भएकाले चौथो त्रैमासिकमा मात्रै ५१ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको उल्लेख छ।

देशभर २.५ देखि १० आनासम्मका साना प्लटको कारोबार करिब ४३ प्रतिशत रहेको छ। तर मधेस प्रदेशमा २० आनाभन्दा ठूला प्लटको माग बढी देखिएको छ, जसले कृषि तथा औद्योगिक प्रयोजनका लागि ठूलो जमिनको आवश्यकता रहेको संकेत गर्छ।

यसैबीच, घरजग्गा क्षेत्रमा बैंक कर्जाको प्रवाह पनि बढ्दो छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म रियल इस्टेट कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा कारोबारबाट उठ्ने सरकारी राजस्वमा पनि सुधार देखिएको छ, जुन हाल १० देखि १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। महानगरीय क्षेत्रमा भरतपुरमा सबैभन्दा बढी कारोबार हुने गरेको छ भने काठमाडौं र ललितपुरमा मूल्य अत्यधिक महँगो हुँदा कारोबार संख्या तुलनात्मक रूपमा कम देखिएको छ।

समग्रमा, घरजग्गा बजारमा मौसमी प्रभाव पनि देखिन्छ। पहिलो त्रैमासिकमा कारोबार सुस्त रहने भए पनि तेस्रो र चौथो त्रैमासिकमा बजार बढी सक्रिय हुने राष्ट्र बैंकको निष्कर्ष छ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट