Techie IT
Samayabaddha
आईतबार, २७ वैशाख, २०८३

मङ्सिर दोस्रो हप्तामा नेकपाको एकता महाधिवेशन, जेठभित्र एकीकरण टुंग्याइने


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी जेठ मसान्तभित्र पार्टी एकताको बाँकी सबै प्रक्रिया पूरा गर्ने निर्णय गरेको छ। पार्टीले एकीकरण र समायोजनमा जोडिएका सबै घटकसँगको काम निर्धारित समयमै सक्ने जनाएको हो।

पार्टीको अन्तरपार्टी निर्देशन (अपानी)–३ अनुसार एकता प्रक्रिया सम्पन्न भएपछि सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गरिनेछ। साथै नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि विशेष पहल गरिने उल्लेख गरिएको छ।

नेकपाले आगामी मङ्सिरको दोस्रो हप्तामा एकता महाधिवेशन आयोजना गर्ने तयारीसमेत अघि बढाएको छ। संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानीमा वर्तमान परिस्थितिअनुसार जनतासँग नजिकिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि वैचारिक, राजनीतिक, सङ्गठनात्मक तथा सांस्कृतिक स्पष्टतासहित महाधिवेशन सम्पन्न गरिने उल्लेख छ।

निर्देशनमा वडादेखि केन्द्रसम्मका सबै निर्वाचित पार्टी समितिलाई समावेशी सिद्धान्तअनुसार गठन गरिने जनाइएको छ। समितिहरूमा पाका, अनुभवी तथा युवापुस्ताको सन्तुलित सहभागिता सुनिश्चित गरिने र युवा तथा नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउन विशेष जोड दिइने उल्लेख छ।

त्यसैगरी समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि विशेष पहल गरिने पनि निर्णयमा समेटिएको छ।

गत चैत १९ गतेदेखि सुरु भएको नेकपाको संयोजन समिति बैठक वैशाख १५ गते सम्पन्न भएको थियो। बैठकका निर्णयलाई आधार बनाएर अपानी तयार गरिएको भए पनि हालसम्म पार्टी समितिहरूमा औपचारिक परिपत्र भने जारी नभएको नेताहरूले बताएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट