Techie IT
Samayabaddha
बिहीबार, १४ साउन, २०८३

२ वर्षअघि ‘वर्किङ भिसा’मा कतार गएकी कविताको काँकडभिट्टाको स्कुलमा भेटियो शव


झापा । झापामा मृत भेटिएकी सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीकी २९ वर्षीया कविताकुमारी ढुंगाना रोजगारीको लागि दुई वर्षअघि कतार गएको खुलेको छ।

त्यसयता उनी नेपाल फर्किएको जानकारी नपाएका अभिभावक उनले विवाहसमेत गरिसकेको सुन्दा थप आश्चर्यमा परेका छन्।

गएको सोमबार साँझ मेचीनगर नगरपालिका- ६ काँकरभिट्टामा रहेको अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा कविताको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

गएको वैशाखदेखि कविता आफ्ना पति वीरगञ्ज-१६ निवासी ३० वर्षीय रतन गुप्तासँग सोही स्कुलमा जागीर खाएर त्यहीँको होस्टलमा बस्दै आएको झापा प्रहरीले जनाएको छ।

‘बहिनी दुई वर्षअघि कतार गएकी हो। परिवारको सल्लाहमै उसलाई हामीले ‘वर्किङ भिसा’मा कतार पाठाएका थियौँ,’ कविताको मृत्युको खबरपछि सर्लाहीबाट झापा पुगेका उनका दाजु रमेश ढुंगानाले बुधबार बिहान नेपालखबरसँग भने, ‘दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हामीले उनलाई कतारको लागि बिदा गरेका थियौँ। त्यसयता बहिनी नेपाल फर्किएको जानकारी हामीलाई छैन। उ कहिले नेपाल आइ, कोसँग बिहे गरी हामीलाई केही थाहा छैन।’
दाजु रमेशका अनुसार कवितासँग ह्वाट्स एप परिवारका सदस्यसँग कुरा हुन्थ्यो।

अघिल्लो बुधबार पनि उनका दाजुले उनीसँग कुरा गरेका थिए। कतारकै नम्बरमा दाजुसहितका परिवारका सदस्यले उनीसँग कुरा गर्थे।

तर, कुरा गर्ने क्रममा उनी भिडिओ कलको लागि भने तयार हुँदैनथिन्। कविता ‘मोवाइलको क्यामेरा बिग्रेको छ, भिडिओ कल हुँदैन’ भन्थिन्। अभिभावकले पनि होला तानि भन्ने सोच्थे।

लामो समयसम्म यही क्रम चल्यो। कुराकानी हुन्थ्यो। तर, कुराकानी गर्दा उनलाई भिडिओमा कसैले पनि देख्न पाउँदैनथे।

‘गएको एकसाता अघि (साउन ६ गते बुधबार) मात्रै मैले बहिनीसँग ह्वाट्सएप म्यासेजमा कुरा गरेको थिएँ,’ रमेशले भने, ‘कुरा गर्ने क्रममा मैले ‘बहिनी तँलाई नदेखेको धेरै भयो, तँ आज भिडिओमा आइज न। तँलाई नदेखी म्यासेज गर्ने तँ मेरै बहिनी हो भनेर मैले कसरी विश्वास गरौँ, कसरी पत्याउँ ?’ भन्ने प्रश्न गरे।

त्यसपछि कविताले ह्वाट्सएपमै भ्वाइस म्यासेज पठाइन्। त्यो भ्वाइस म्यासेज बहिनी कविताकै थियो।

‘तपाईँसँग कुरा गर्ने म तपाईँकै बहिनी नै हो। यता मलाई राम्रो छ, राम्रो हुँदैछ भन्ने व्यहोरा थियो भ्वाइस म्यासेजमा, म कतारमै छु भनेकी थिइ उसले मसँग’, दाजु रमेशले भने।

गएको सोमबार दिउँसोसम्म पनि परिवारका सदस्यले उनी उतै (कतारमै) छिन् भन्नेमा विश्वासमा थिए।

केही समयअघि उनले ‘म बिरामी छु। खर्च पनि छैन’ भनेकी थिइन्। रमेशका अनुसार बेलाबेलामा उनी त्यसो भन्थिन्। यता घर परिवारले उनलाई बेलाबेलामा पैसा पनि पठाउँथ्यो।

‘बहिनी विदेशमा छे, चञ्चो भएन होला, यस्तै हो, आपत पर्‍यो होला’ भन्ने सोच्थे। उनले भनेको बेला पैसा पठाइदिन्थे दाजु।

‘तँलाई त्यता राम्रो छैन भने नेपाल फर्की, यतै आइज पनि भनेँ मैल धेरैपटक,’ उनले भने, ‘तर उ केही दिनपछि मलाई ठिक भयो, अब काम गर्छु भन्थि। हामी विश्वास गर्थ्यौँ। लामो समयसम्म यही क्रम चल्यो।’

एकपटक उनले आफूलाई कतारमा राम्रो नभएको भन्दै नेपाल फर्किन चाहेको बताइन्। घर फर्किन पनि खर्च छैन भनिन्। त्यसपछि दाजुले प्लेन टिकटको लागि भन्दै ८० हजार रुपैयाँ पठाइदिए।

त्यतिबेला कविताले ‘मैले नेपाल फर्किँन टिकट काटेँ’ भनेर टिकटको तस्बिर पनि ह्वाट्सएपमा पठाइन्। दाजुसहित परिवारका सदस्यले विश्वास गरे।

तर, पछि फेरि उनले ‘म अहिले नआउने भएँ, मलाई सञ्चो भयो। म फेरि काम गर्छु। मैले टिकट पनि क्यान्सिल गरेँ,’ भनेर म्यासेज गरिन्। ‘दाजुले पठाएको पैसा म पठाइदिन्छु’ भनिन्। तर, पैसा पठाइनन्।

यसरी आफूले यो दुई वर्षको अवधिमा पटकपटक गरेर बहिनीलाई करिब साढे ३ लाख रुपैयाँ जति पैसा पठाएको रमेशले बताए।

सबै परिवारका सदस्य कविता विदेशमै छिन् भन्नेमा विश्वस्त थिएन। तर, गएको सोमबार साँझ ७ बजेतिर जिल्ला प्रहरी कार्यालय झापाबाट रमेशको मोवाइल नम्बरमा फोन आयो।

उताबाट ‘तपाईँको बहिनी काँकडभिट्टाको अरुणोदय स्कुलमा मृत फेला परिन्। तपाईँहरु यहाँ आउनु पर्यो,’ भनियो।

सुरुमा त परिवारका सदस्यले यसलाई पत्याएनन्। कविता कतारमा छिन् भन्नेमा परिवारका सबै सदस्य विश्वस्त थिए। दाजु रमेशले ‘हाम्रा बहिनी कतारमा छ, कसरी झापामा मृत भेटिन्छेरु तपाईँहरुको अनुसन्धानमा मिस्टेक भयो होला,’ भनेर प्रहरीलाई सम्झाउने प्रयास गरे।

तर, लगत्तै झापा प्रहरीले प्रहरीले रमेशको ह्वाट्स एपमा कविताको नागरिकता र पासपोर्टको फोटो पठायो। त्यसपछि भने परिवारका सदस्यको मनमा चिसो पस्यो। त्यो सबै विवरण कविताको कै थियो। त्यही राति नै दाजु साथी शशी देवकोटासहित केही आफन्तलाई साथमा लिएर झापातिर हाँनिए।

‘अहिले म काँडभिट्टाबाट बहिनीको शव राखिएको प्रादेशिक अस्पताल भद्रपुरतिर जाँदैछु, रमेशले नेपालखबरसँग भने, ‘दुई वर्षअघि कतार गएकी बहिनी उतै छ भन्नेमा हामी विश्वस्त थियौँ। उ नेपाल कहिले र कसरी आइ भन्नेमा हामीलाई केही थाहा छैन। एक्कासी उसको मृत्युको खबर पाउँदा हामी केही सोच्न सक्ने अवस्थामा पनि छैनौँ।’

कविताले कहिले नेपाल आइन, कहिले बिहे गरिन्, काँकडभिट्टाको स्कुलमा कहिलेदेखि काम थालिन्, परिवारका सदस्यालाई केही थाहा छैन। एक्कासी उनको मृत्युको खबर पाउँदा परिवारका सदस्यमा पीडासँगै अन्योलको अवस्था सिर्जना भएको छ।

कविता र गुप्ता पतिपत्नी भएर बोर्डिङकै क्वाटरमा बसेको विषयले पनि उनीहरुमा विभिन्न आशंका जन्माएको छ।

बोर्डिङका प्रिन्सिपल ९प्रअ० दुर्गाबहादुर लुइँटेल र सञ्चालक समितिका पदाधिकारीसँग पनि उनीहरुले मंगलबार कुरा गरे।

गुप्ताले प्रअलाई पठाएको लामो ह्वाट्सएप म्यासेज पनि हेरे। यी सबै कुराले उनीहरु आश्चर्यमा परेका छन्। घटना कसरी भयो, उनको हत्या हो कि आत्म हत्यारु प्रहरी अनुसन्धानबाटै सबै यथार्थ सार्वजनिक होला।

प्रहरीको प्रारम्भिक अनुसन्धानले भने उनी कतार पुगेको खुलेको छ। उनी मृत भेटिएको कोठमामा पनि कतार बस्ताका कागजपत्र, परिचयपत्रहरु फेला परेका छन्।

नेपालबाट कतार गएको सात महिनापछि उनी दिल्ली एयरपोर्ट हुँदै नेपाल फर्किएको पासपोर्टमा लागेको भिसाबाट भर्खरै आफूहरुले थाहा पाएएको दाजु रमेश बताउँछन्।

‘यी सबै घटना कहिनी बस्ने गरेको भनेको कोठामा हामीले गरेको खानतलासीबाट खुलेको हो,’ रमेशले भने, ‘तर, त्यहाँ गुप्ताको भने कुनै डकुमेन्ट फेला परेको छैन।’

कविता सात महिनामै नेपाल फर्किएको देखिए पनि त्यसपछि उनी कहाँ गइन्, कसरी बसिन्, के गरिन् परिवारका सदस्यलाई केही थाहा छैन। ‘स्कुलका प्रअले चार महिनादेखि कविता आफ्ना पतिसँगै यहाँ बसेर बालबालिकालाई पढाइरहेकी थिइन्’ भनेको छ, परिवारका सदस्यँसग।

‘स्कुलले पतिपत्नी भनेर राखेको रहेछ। जागीर र डेरा दिएछ,’ रमेशले भने, ‘तर, एउटी छोरी मान्छे त्यसरी स्कुलमा आइपुग्दा स्कुलले कुनै क्रसचेक किन गरेनरु’

रमेशका अनुसार काठमाडौँमा बसेर ब्याचलरसम्म पढेकी कविताले यसअघि शिक्षण पेसा गरेकी थिइनन्।

‘यहाँ हुँदा उसले काठमाडौँमा बसेर पढेकी मात्रै हो, तर कुनै काम गरेकी थिइन्। सर्लाहीमा बस्दा पनि उसले कुनै स्कुलमा पढाएकी होइन,’ उनले भने, ‘ब्याचलर सकेपछि उसले विदेश जान्छु भनी। विदेशै जाने हो भने पनि जापान वा

कोरियातिर जा, किन कतार जान्छेस् भनेर पनि हामीले सम्झाएको हो। तर, उनले कतार नै जाने इच्छा व्यक्त गरिन्।’

त्यसपछि आफूहरु उनको इच्छामा सहयोगी बनेको रमेश बताउँछन्।

कतार जाने सहमतिपछि उता जाने सबै प्रक्रिया कविता आफैँले गरेकी थिइन्।

उनका पति भनिएका गुप्तासँग परिवारका सदस्य कसैको पनि चिनजान, भेटघाट केही थिएन। उनको नाम पनि सुनेका थिएनन, कसैले।

कविताको पतिपत्नी भनेर प्रहरीले दिएको विवरण मिडियाहरुमा आउँदा उनीहरु झन् चकित बनेका छन्। ‘उसले कहिले बिहे गरीरु आफ्नो प्रेमी भएको पनि उनले हामीलाई कुनै संकेत गरेकी थिइनन्,’ रमेश भन्छन्।

स्कुलले दिएको तस्बिरमा मात्रै आफूले गुप्तालाई देखेको रमेशले बताए। ‘यहाँ सबै विषय आश्चर्यजनक र शंकास्पद छन्, यो गम्भीर अनुसन्धानको विषय हो,’ उनले भने, ‘प्रहरीले त्यही अनुसार घटनाको अनुसन्धान गरोस्।’
कवितालाई माथिल्लो तलामा झुण्डिएको अवस्थामा सोमबार आफूले भेटको गुप्ताले प्रअलाई पठाएको ह्वाट्सएप म्यासेजमा उल्लेख छ।

कवितालाई सलमा झुण्डिएको अवस्थामा कोठामा देखेपछि सल काटेर काँधमा बोकेर तल झारेको र सुत्ने कोठाको बेडमा राखेको गुप्ताले भनेका छन्। ‘बोलाउँदा उ बोलिन, त्यसपछि उ मरिछ भन्ने ठानेँ। अनि डरको कारण कारण घटनास्थलबाट म भागेको हो,’ गुप्ताले प्रिन्सिपल लुइँटेललाई पठाएको म्यासेलमा भनेका छन्।

रमेशका अनुसार यो सबै कुरा सुन्दा उनीहरुले पत्याएका छैनन्। ‘सोमबार साँझ प्रहरीलाई खबर हुँदा शव गनाउन थालिसकेको रहेछ,’ उनले भने, ‘यसले पनि गुप्ताको भनाईमा आशंका छ।’

कविताको शव भेटिएको ओछ्यानमा रोमन अक्षरमा लेखिएको ‘सुसाइड नोट’ पनि भेटिएको उनले बताए तर, त्यो कविताले लेखेकोमा रमेश विश्वस्त छैनन्।

‘बहिनीले रोमनमा लेख्नुपर्ने कारण केही छैन। दुईतीन हरफको त्यो लेखाइ नेपाली ल्याङ्वेजसँग पनि मिल्दैन। त्यसको भाव मधेसी समुदायले बोल्ने भाषासँग मेल खान्छ। काठमाडौँ बसेर पढेकी बहिनीको लेख्दा वा बोल्दा त्यस्तो टोन हुँदैनथ्यो भन्ने हामीलाई लाग्छ,’ उनले भने।

रमेशले बहिनीको भनिएको ‘सुसाइड नोट’ पनि फेक मानेका छन्।

कविताको ‘सुसाइड नोट’ सँगै गुप्ताको पनि पत्र ‘नोट’ फेला परेको रमेशले बताए। जहाँ उनले प्रअलाई ह्वाट्सएप म्यासेजमै पठाएको जस्तो बेहोरा लेखेका रमेश बताउँछन्।

तर, कोठामा आफ्नो कपडा, पढाइका प्रमाणपत्र, नागरिकतासहितका कुनै पनि परिचय खुल्ने कागजात छाडेका छैनन्।

‘बोर्डिङ स्कुललाई बुझाएको डकुमेन्ट बाहेक हामीले त्यो कोठामा गुप्ताका कुनै पनि सामान भेटेनौँ,’ रमेशले भने, ‘शव सड्ने अवस्था भइसकेको रहेछ। बाहिरबाट ताल्चा लगाएर सँगै बस्ने भनिएको गुप्ता भागेको छ।’

यो घटनामा बोर्डिङ स्कुलले पनि गल्ती गरेको कविताका परिवारका सदस्यको बुझाइ छ।

‘नचिनेका व्यक्तिहरुलाई, इन्टरकास्ट म्यारिज गरेका युवायुवतीलाई कुनै पनि क्रसचेक नगरी स्कुलले किन जागीर दियोरु’ उनले भने, ‘हामी पतिपत्नी हौँ, जागीर दिनु पर्यो भन्ने बित्तिकै स्कुलले भिभावकसँग कुनै कुरा नबुझी बस्न दिन मिल्छ? स्कुलले उनीहरुले विवाह गरेको प्रमाण पनि मागेका देखिएन।

जागीर दिनुअघि स्कुलले आफूहरुसँग कुरा नगरेकोमा रमेशको गुनासो छ। ‘कम्तिमा पनि स्कुलले जागीर दिनुअघि त्यति खोजी मात्रै गरेको भए पनि बहिनीको ज्यान नजान सक्थ्यो,’ रमेशले भने।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले आफूहरु घटनाको गम्भीर अनुसन्धानमा रहेको बताए।

‘शव पोस्टमार्टमको लागि भद्रपुरबाट घोपा पठाउने तयारी हुँदैछ। आज जान्छ होला,’ उनले नेपालखबरसँग भने, ‘कविताका पति भनिएका गुप्ता हाम्रो सम्पर्कमा आएका छैनन्। हामी उनको खोजी गरिरहेका छौँ। थप विवरण पोस्टमार्टम रिपोर्ट र गुप्ताबाट खुल्ला। हामी अनुसन्धान गर्दैछौँ। आत्महत्या हो कि कर्तब्य हो। त्यो पनि पोस्टमार्टमले नै देखाउला।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट