Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

देशभर डेङ्गी सङ्क्रमण फैलियो, १९ हजारभन्दा धेरै सङ्क्रमित


काठमाडौं । देशभर डेङ्गी सङ्क्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।

काठमाण्डौमा तीन हजार एक सय तीन, कास्कीमा दुई हजार आठ सय ४७, तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा पाँच सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मनसुन सकिएपछिको अहिलेको अवस्थामा डेङ्गीको जोखिम अझ बढी हुने बताए । दशैँलगत्तै अस्पताल पुग्ने डेङ्गीको बिरामी बढिरहेका र समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको उनको भनाइ छ ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्नको लागि पूरा शरीर ढाक्ने कपडा लगाउन, घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहन तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरहरुले सुझाव दिँदै आएका छन् ।

 

 


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट