Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

चैते बाढीले निर्माणाधीन पुल भत्कायो, २ करोड रुपैयाँ बराबरको क्षति


उदयपुर । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले उदयपुरको कटारी नगरपालिका–२ अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको कटारी–२ का वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरेको १८ दिनमात्र भएको थियो । ‘त्यहाँ राखिएका तारहरू २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्‍याइदियो’, उनले भने, ‘यसको बीमा गरिएको हुन्छ, अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।’

५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उहाँको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल असार २९ गते यस सडक खण्डअन्तर्गत पर्ने चार वटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट