प्रि–मनसुन : प्राकृतिक विपत्तिको संकेत

नेपालमा यस वर्षको प्रि–मनसुन सुरु भएको छ । प्रि–मनसुनमा भएको वर्षाका कारण काभ्रेको रोशी खोलामा आएका बाढीले बगाएर एक महिला बेपत्ता भएको एक हप्ता भइसकेको छ । तर, अझै उनको अवस्था पत्ता लागेको छैन ।
रोशी खोलामा आएको बाढीले कल्भर्ट बगाउँदा बाटो अवरुद्ध भई केही दिन अघि यातायात दिनभरि नैं अवरुद्ध भयो । यसैगरी यही वैशाखमा अत्याधिक वर्षा हुँदा हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरे । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका थिए । वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति समेत पुर्यायो । वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्यायो ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा क्षति पुर्यायो ।
केही दिनयता बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु, पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावले पानी परिरहेको छ । पानीसँगै आएको बाढीले कतिपय जिल्लामा बाटो भत्काउँदा यातायात अवरुद्ध भएको छ । पानी परेसँगै निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने खण्डमा बाटो बिग्रिँदा घण्टौं जाममा फस्नु परेको थियो । बाढीले डाइभर्सन बगाएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ पनि अवरुद्ध बन्यो । राजमार्गका कतिपय पक्की पुलमासमेत क्षति पुगेको छ ।
त्यसैगरी उदयपुरमा त्रियुगा नदीमा आएको प्रि–मनसुनको बाढीले चौदण्डीगढी नगरपालिका ५ को सिवाई र बेल्हा गाउँ जोड्न ह्युमपाइप राखेर बनाइएको बाटो भत्किँदा बस नै बगाएको थियो । यी त केही उदाहरण मात्र हुन् ।
प्रि–मनसुन वर्षायाम सुरु हुनु अघिको प्राकृतिक रुप हो । प्रि–मनसुन अवधि भन्नाले मार्च, अप्रिल र मे महिनालाई बुझाउँछ । नेपालमा प्रि–मनसुन अवधिमा ९० देखि ११० मिलिमिटरसम्म वर्षा हुनुलाई सरदर मानिन्छ । तर हालसम्मको अवधिमा नेपालमा १०७.५ मिलिमिटरसम्म वर्षा भइसकेको छ ।
नेपालमा प्रि–मनसुनको सयममा वर्षैनी धेरै जनधनको क्षति हुने गरेको छ । बिना भौगर्भिक अध्ययन र अनुसन्धान आफूखुसी गाउँगाउँमा ‘जोडरे विकास’ गर्दा वर्षायाम सुरु अघि नै सामान्य पानीले नै खुकुलो माटो बगाएर घर, खेत, बालिनाली आदिमा क्षती पुर्याउने गरेको बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । विकासका नाममा डोजर चालक र स्थानीय जनप्रतिनिधि नैं इञ्जिनियर बनेर जथामावि जमिन खन्दा पि–मनसुनमै धेरै विपत्तिको सामना गरिरहनु परेको छ । तसर्थ यस्ता डोजरे विकासप्रति तीनै तहका सरकार सचेत हुन जरुरी छ ।
मौसमविद्हरुका अनुसार प्रि–मनसुनको वर्षा वा खडेरीले मनसुनमा गर्ने संकेतबारे नेपालमा छुट्टै अध्ययन भएको छैन । त्यसैले अहिलेको प्रिमनसुनमा परेको पानीले मनसुन (वर्षायाम) कस्तो होला भनेर भन्न नसकिने उनीहरु तर्क छ । गत वर्ष भत्किएका सडक र पुल पुलेसाहरू पुनर्निर्माणको काम नसकिएको र पि–मनसुन अवधिमा परेको पानीले बाटो भत्किन सुरु भइसकेकाले मनसुन अवधिमा झन् बढी प्राकृतिक प्रकोपको जोखिम हुनेप्रति अहिलेदेखि नै चिन्तन सुरु गर्नेबेला भइसकेको छ । यसप्रति सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया