Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

सार्वजनिक सवारी ठप्प, यात्रु अलपत्र


काठमाडौं / देशभरका यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा आज (सोमबार)देखि अनिश्चितकालका लागि बन्द गरेका छन् । उनीहरूले आफ्ना मागहरूमा सरकारको बेवास्ता भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघलगायतका संघ–संगठनहरूले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि सबै प्रकारका सार्वजनिक सवारी ग्यारेजमै थन्क्याउने निर्णय गरेका थिए ।

उनीहरूले अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक सवारीजस्तै बस, टेम्पो, ट्रक, मिनीबस, जिप र माइक्रोबस सञ्चालन नगर्ने जनाएका छन् ।

यस निर्णयको प्रभाव राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि देखिएको छ । सार्वजनिक सवारी नचल्दा हजारौँ यात्रुहरू गन्तव्यमा जान नसकी सडकमा अलपत्र परेका छन् । धेरैलाई कार्यक्षेत्र र विद्यालय/क्याम्पस जान समस्या भएको छ ।

संघ–संस्थाहरूले सरकारसँग पुराना मागहरूको कार्यान्वयन, नयाँ नीति–निर्देशन खारेज र यातायात व्यवसायीको सुरक्षालगायतका विषयमा तत्काल सुनुवाइ गर्नुपर्ने बताएका छन् । सरकारले वार्तामा नआए थप कठोर आन्दोलनमा जाने उनीहरूको चेतावनी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट