Techie IT
Samayabaddha
बिहीबार, १९ असार, २०८२

इँटाभट्टामा काम गरेर एसईईमा ४.०० जिपिएः गोमाको जीवन मोड्ने अवसर


काठमाडौं । जीवनका कष्टपूर्ण अवस्थाबीच पनि निरन्तर प्रयास गर्ने हो भने सफलता सम्भव छ भन्ने उदाहरण बनेकी छिन् गोमा श्रेष्ठ ।

इँटाभट्टको खलामा काम गर्दै एसईई (माध्यमिक शिक्षा परीक्षा) तयारी गरेकी उनले यस वर्ष ४.०० जीपीए ल्याएर देशैभरिका मानिसको ध्यान खिच्न सफल बनिन् । अब उनले एमबीबीएस अध्ययन गर्न पाउने सुनिश्चित भएको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी धर्मपत्नीको सहयोगमा गोमाको डाक्टर बन्ने सपना साकार हुने अवसर प्राप्त भएको छ ।

चाँगुनारायण– ८, सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी गोमाले ४ जिपिए मात्र होइन चाँगुनारायण नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन ।

गोमाको घर रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियाँपानीबाट भक्तपुर आएकी हुन् । परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियाँपानी छाडेर भक्तपुरको सुडाल आएकोे गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भए पनि गोमाको पढ्ने इच्छा बलियो थियो । उनले आफ्नै संकल्प, दृढता र निरन्तर मेहनतको परिणामस्वरूप एसईई परीक्षामा उच्चतम ग्रेड हासिल गर्न सफल भइन् ।
दिउँसो विद्यालय जाने गोमा साँझ–बिहान भने इँटाभट्टाको खलामा खेल्दै हुर्कन थालिन् । दिउँसो विद्यालय जाने, साँझ–बिहान खलाको इँटा सुकाउँदै उनको दैनिकी बित्न थाल्यो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा नौसम्म लगभग त्यसैरी नै दैनिकी बिताउन थालिन् ।

कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन् । बुवाआमाले पनि अबको एसईईमा राम्रो गर्न पढाइमा ध्यान दिन लगाए । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाइमा जोड दिन सुझायो । यी सबैको सुझाव र आफ्नो मेहनतको नतिजा उनले एसईईमा देखाइन् ।

उनको संघर्षपूर्ण कथा सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि समाजका विभिन्न तहका व्यक्तिहरूले सहयोगको प्रस्ताव गर्न थाले । तीमध्ये सबभन्दा ठुलो प्रस्ताव भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीबाट भएको छ । उनीहरूले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च वहन गर्ने घोषणा गरेका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिए ।

गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिएका छन् ।

“उसको दृढता र लगनशीलता देख्दा हामी प्रेरित भयौं । यस्ता विद्यार्थीलाई समर्थन गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो,” गुरुङ दम्पतीले भने, “उसको सपना डाक्टर बन्ने हो भने हामी त्यो सपना पुरा गर्न सघाउँछौं ।”

सहयोगको खबर पाएपछि गोमा र उनको परिवार निकै भावुक भएका छन् । गोमाले भनिन्, “डाक्टर बन्ने मेरो सपना थियो, तर परिवारको अवस्था हेर्दा त्यो असम्भवजस्तै लाग्थ्यो । अहिले गुरुङ अंकल र आंटीले पढाइदिने भनेपछि खुशीको सिमा रहेन् । उहाँहरुप्रति म सदैव आभारी रहनेछु ।”

शिक्षा मन्त्रालयका प्रतिनिधिहरूले पनि गोमाको सफलता र उनलाई प्राप्त सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले यस्तो प्रेरणादायी कथा अरू विद्यार्थीका लागि पनि उदाहरणीय हुने विश्वास व्यक्त गरेका छन् ।

गोमा श्रेष्ठको कथा नेपालका लाखौं किशोरकिशोरीका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ । उनले देखाएको समर्पण र पाएको साथको मिश्रणले अब डाक्टर बन्ने उनको यात्रालाई थप सुनिश्चित बनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट