Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन


त्रिशूली । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब रु १३ लाख भेटी सङ्कलन भएको छ ।

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मन्दिरबाट सङ्कलन गरिएको नगद रु १२ लाख ५४ हजार ८० र कोषको बैंक खातामा क्युआरमार्फत रु ३४ हजार १०० भेटी सङ्कलन भएको हो ।

जात्राको भेटी सङ्कलन गरेर प्रहरी चौही समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो । जनप्रनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको हो । ‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करीब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए ।

दुप्चेश्वर महादेव मन्दिरमा शनिबार र सोमबारका दिन पाँच हजार हारहारीमा तीर्थयात्री आउने र करिब रु एक लाख भेटी सङ्कलन हुँदै आएको छ । हिन्दू र बौद्धमार्गीका लागि यहाँको मन्दिर प्रसिद्ध रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट