Techie IT
Samayabaddha
शनिबार, ३ जेठ, २०८२

सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा लागिरहेका छौँ : माधव नेपाल


काठमाडौँ, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको उनको भनाइ छ । उनले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको औंल्याए । उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताए । नेता नेपालले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।

‘‘सकेसम्म हामीले चाहनुपर्छ, सिङ्गै आन्दोलनलाई एकताबद्ध बनाउन । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन, त्यस काममा त हामी लगातार लागिरहेका छौँ । ०३२ सालदेखि लाग्दै आयौँ । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकताबद्ध बनाउँदै पनि गयौँ । कोही एकताबद्ध भए,कोही भएनन् । कोही एकताबद्ध भएर पनि बिचैमा छोडेर पनि गए ।,’’ अध्यक्ष नेपालले भने, ‘‘त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन । आफ्नो अडान ठिक छकी छैन, आफ्नो विचार ठिक छ की छैन ? त्यसमा सबैभन्दा पहिला आत्मविश्वास हुनुपर्छ । त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नुपर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरूसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभइकन सबै खालका विकृति, विसङ्गतिसँग जुधेर इमानदार कम्युनिष्टको रूपमा अघि बढ्न जरुरी रहेको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट