पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणः नेपालको वाम राजनीतिमा नयाँ उथलपुथलको संकेत !

नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेठ १०–१९गतेसम्मको लागि मित्र राष्ट्र चीन भ्रमणमा रहेकी छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा १४ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन गएकी हुन् ।
भ्रमण टोलीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलगायत छन् । राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
पूर्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा आएका भण्डारी र चिनिया नेताहरुको अभिव्यक्तिहरुले नेपालमा वाम एकताको आवश्यकताको सन्देश दिन खोजिएको छ ।
चीनले आयोजना गरेको कार्यक्रम र दुईपक्षीय भेटमा भण्डारी पूर्व राष्ट्रपतिको हैसियतले भन्दा पनि एमालेको नेताको हैसियतले प्रस्तुत भएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेको र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद भन्दै आफ्नो मन्तव्य शुरु गरिन् । त्यतिमात्र होइन उनले एमाले र CPC बीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै मदन भण्डारीदेखि केपी ओलीसम्मको विचार प्रवाहलाई जोड दिइन् ।
चिनियाँ नेतासँगको भेटवार्तामा पनि उनले एमाले नेताकै रूपमा भूमिका निर्वाह गरिन् । सिपिसि विदेश विभाग प्रमुख लिउ जियान्चाओसँगको भेटमा उनले वाम एकता र सहकार्यको पक्षमा आफूले सक्रिय पहल गरिरहेको बताइन् ।
लिउले पनि नेपालको राजनीतिक स्थिरताको लागि वामपन्थी एकता अपरिहार्य रहेको भन्दै भण्डारीको नेतृत्वमा सहकार्यको सन्देश दिएका थिए ।
यस भ्रमणमा भण्डारीसँग एमालेका शीर्ष नेताहरूको उपस्थिति रहनुले भ्रमण व्यक्तिगत नभई पार्टीगत रणनीतिको हिस्सा रहेको स्पष्ट हुन्छ । चिनियाँ पक्षले नेपालको स्थिरितामा गहिरो चासो देखाउँदै BRI अन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा ढिलाइप्रति चिन्ता पनि व्यक्त गरेको छ ।
भण्डारीले चीन र छिमेकी देशका पार्टीहरूबीच संवादको संस्थागत संरचना बनाउने, युवा नेताबीच अनुभव आदान–प्रदान बढाउने र एसियाली पुनर्जागरणका अवधारणाहरूको वकालत गरिन् । उनले एसियालाई अब “शान्तिको प्रवक्ता र विकासको इन्जिन” बनाउनुपर्ने बताइन् ।
नेपालको संविधानले राष्ट्रपतिको पदलाई राजनीतिक दलहरूको प्रभावबाट पर राख्न खोजेपनि, विद्यादेवी भण्डारी एमालेको राजनीतिकमा फर्कने संकेत गरिसकेकी छन् । नेपालमा रहँदा पनि उनले देशव्यापी रुपमा भ्रमण गरेर कार्यकर्ता भेटघाट गरेकी थिइन ।
भण्डारी राष्ट्रपति हुँदैदेखि दलहरुबीचको विवाद मिलाउन राष्ट्रपति भवन शितल निवासलाई प्रयोग गरेकी थिइन । भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि एमालेको उपाध्यक्ष थिइन । यसले पनि राजनीतिक रूपमा उनको वामपन्थी विचारधारासँग झुकाव राख्नु स्वभाविक हुन्थ्यो । तर उनले राष्ट्रपति हुँदा एमालेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई बलियो साथ दिएको आरोप बारम्बार लागिरहेको थियो ।
अहिले चीन भ्रमणमा जाँदा पनि उनले एमालेकै नेताको रुपमा उभ्याउनुले नेपालको राजनीति र कुटनीतिक क्षेत्रमा एक प्रश्न भने जरुर उठेको छ ।
भण्डारीको भ्रमणमा चीनको मिडियाले दिएको प्राथमिकता, उनलाई प्रमुख वक्ताको रूपमा राखिएको भूमिका, र उनले व्यक्त गरेको विचार–यी सबै कुराले चीनले नेपालमा के चाहेको छ भन्ने दृष्टिकोण स्पष्ट गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले धेरै तहमा राजनीतिक संकेतहरू दिएको छ । यो भ्रमण औपचारिक नभए पनि, त्यसको प्रभाव भने औपचारिकभन्दा कम छैन । यसलाई चीनको नेपालमा वामपन्थी एकताको लागि सफ्ट खालको कुटनीतिक पहल हो मान्न सकिन्छ । नेपालमा सबै राजनीतिक दलहरुले मिसन ०८४को तयारी गरिरहेको बेला पूर्व राष्ट्रपतिको यो भ्रमण र चिनिया पक्षले दिएको जुन स्पेस छ त्यसले नेपालको वाम राजनीतिमा नयाँ उथलपुथल ल्याउने सम्भावनाको संकेत गरेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया