पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नम्बर ६४४
काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) पार्टी सदस्यता नम्बर ६४४ रहेको पाइएको छ । उक्त सदस्यता परिचयपत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको खुलासा भएको छ । गत जेठ १० गते चीन भ्रमण गएकी भण्डारीलाई एमालेकै प्रतिनिधि पात्रका रूपमा पठाइएको थियो ।
तर, त्यसको केही समयमै अध्यक्ष ओलीले नै उनीसँग सम्बन्धित ‘सदस्यता विवाद’ सतहमा ल्याएको घटनाक्रमलाई राजनीतिक विश्लेषकहरूले सामान्य रूपमा मात्र नभएर भूराजनीतिक प्रसंगसँग पनि जोडेर हेर्न थालेका छन् ।
यहाँ उल्लेखनीय पक्ष के छ भने जेठमा चीनसँगको उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा सहभागी गराउन पार्टीका तर्फबाट ओलीले नै भण्डारीलाई सिफारिस गरेका थिए । पूर्व राष्ट्रप्रमुख भएर पनि उनी पार्टीको आधिकारिक प्रतिनिधि टोलीको नेतृत्व गर्नु चर्चाको विषय बनेको थियो ।
चीन भ्रमणबाट फर्किएको केही सातापछि भण्डारीको सदस्यताको विषयलाई लिएर ओलीले नै बखेडा झिके । महाधिवेशन पूर्वसन्ध्यामा एमालेभित्रको शक्ति सन्तुलन, आन्तरिक गुटगत तानातान र नेतृत्व उत्तराधिकारीसम्बन्धी संकेतहरूलाई हेर्दा सदस्यता विवादलाई साधारण मान्न सकिँदैन ।
चीनसँगको सम्बन्ध, दक्षिण एशियामा बढ्दो प्रतिस्पर्धा र नेपालमा महाशक्तिहरूको बढ्दो रुचिका प्रसंगबीच पूर्व राष्ट्रपतिदेखि पार्टी अध्यक्षसम्मको भूमिकाले ठूलै महत्व पाउँछ । पूर्व राष्ट्रपतिको सदस्यता विवाद साधारण प्रशासनिक त्रुटि जस्तो देखिए पनि यसले एमालेभित्रका शक्ति संघर्षदेखि नेपालको भूराजनीतिक भूमिकासम्म प्रश्न उठाएको छ ।
क्याटेगोरी : राजनीति

















प्रतिक्रिया