कांग्रेस–एमालेबीच गठबन्धनको कसरत, शेखर–गगन पक्ष बने ‘भिलेन’
काठमाडौं । आफ्ना मुख्य प्रतिष्पर्धी मानिएका नेपाली कम्युनिष्ट पार्टीमा १७ दल र वैकल्पिक तीन समूह राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल विकास पार्टी अनि उज्यालो नेपाल पार्टी एकै ठाउँमा समाहित हुँदा पुराना दुई ठूला शक्ति नेपाली कांग्रेस तथा नेकपा (एमाले) हच्किन थालेका थालेका छन् । उनीहरूले पनि आफ्नो अस्तित्व जोगाउन आगामी माघ ११ को राष्ट्रिय सभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा गठवन्धनको कसरत थालेका हुन् । चुनावी तालमेलमा एमालेले हात फैलाए पनि कांग्रेस भने ‘अनिर्णयको बन्दी’ बनिरहेको छ ।
सम्वद्ध स्रोतका अनुसार, एमालेसँग चुनावी गठवन्धन गर्न कांग्रेसको शीर्ष नेतृत्व तयार भए पनि शेखर कोइराला र गगन थापा पक्षधर बाधक बनिरहेका छन् । प्रारम्भिक चरणमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सकारात्मक छलफल भए पनि कांग्रेसको संस्थापनइतर खेमाले अड्को थापेका कारण गठबन्धनमा अन्यौलता देखिएको हो ।
यद्यपि ओलीले देउवालाई अझै प्रधानमन्त्रीको ‘ललिपप’ देखाएर सहमति र गठबन्धन पुरानैको निरन्तरता हो भन्न छाडेका छैनन् । उनले २०८१ असार १७ मा भएको सातबुँदे सहमतिबाट एमाले पछि नहटेको बताउँदै चुनावमा सहकार्य गर्न देउवालाई फकाइरहेका छन् । ओलीको आश्वासनमा मख्ख परेका देउवाले पनि चुनावी गठबन्धनमा ‘जोडबल’ गरिरहेका छन् ।
कांग्रेसमा देउवा र उनीनिकट केही नेताबाहेक अरु गठबन्धनको पक्षमा छैनन् । नेता शेखर तथा महामन्त्रीद्धय गगन–विश्वप्रकाश पक्षधर नेता–कार्यकर्ताले सुरुदेखि नै गठबन्धनको विरोध गर्दै आइरहेका छन् । उसो त माओवादीसँग गठबन्धन चलिरहेकै बेला २०८० फागुन ७–१० मा गोदावरीमा भएको कांग्रेस महासमिति बैठकमा महामन्त्री थापाले कुनै पनि निर्वाचनमा गठबन्धन गर्न नहुने प्रस्ताव राखेकै हुन् । सत्ता गठबन्धन जोगाउन कांग्रेसले उनको प्रस्तावमा महासमितिबाट तत्काल निर्णय त गरेन तर दुई साता नबित्दै फागुन २१ मा माओवादी कांग्रेससँगको सत्ता गठबन्धन छाडेर एमाले र रास्वपासँग मिलेपछि भने महासमितिमा राखिएको प्रस्तावमा भाषा संशोधन गरेर केन्द्रीय कार्यसमितिले गठबन्धन नगर्ने निर्णय ग¥यो । तथापि त्यो पनि लामो समय टिक्न सकेन, केही समयपछि कांग्रेस एमालेसँग हातेमालो गर्न पुग्यो ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटमध्ये १८ वटाका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिन्छ । फागुन २० देखि राष्ट्रिय सभाबाट एमालेका ८, नेपाली कम्युनिस्ट पार्टीका ८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टीका १÷१ सिट रिक्त हुँदैछन् । मनोनीत वामदेव गौतम पनि त्यही बेला बिदा हुँदैछन् । राष्ट्रिय सभामा गठबन्धन गर्नुपर्ने दबाब एमालेलाई बढी छ । राष्ट्रिय सभामा अहिले एमालेका १० सांसद छन् । आसन्न चुनावमा जित्न नसके एमाले २ सिटमा सिमित हुनेछ । त्यसैले कांग्रेसलाई १० सिट दिने गरी अनौपचारिक प्रस्ताव एमालेले राखेको बताइन्छ । स्थानीय तह प्रमुख÷उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गर्ने समूह विजयी हुने निश्चितप्रायः छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया