विशेष महाधिवेशन कांग्रेसलाई फुटाउन नभएर उठाउनका लागि भएको महामन्त्री विश्वप्रकाश शर्माको दाबि
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले कुनै पनि हालतमा पार्टी विभाजनतर्फ जाने नदिने स्पष्ट पारेका छन् । बरु महाधिवेशनले मुर्झाएर बसेको कांग्रेसलाई पुनः ऊर्जावान बनाउने अभियानका रूपमा अघि सारिएको बताएका छन् ।
उनले विशेष महाधिवेशन विधानसम्मत, संविधानसम्मत र पार्टीलाई नयाँ दिशा दिने उद्देश्यसहित आयोजना हुन लागेको दोहो¥याएर स्पष्ट पारेका छन् । बिहीबार सार्वजनिक गरेको भिडिओ सन्देशमार्फत महामन्त्री शर्माले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन भएरै छाड्ने दृढता व्यक्त गरे।
पार्टीभित्र र बाहिरबाट उठिरहेका शंकाहरूको जवाफ पाँच मुख्य प्रश्नमार्फत दिँदै उनले ‘विशेष महाधिवेशन पार्टी फुटाउने होइन, कांग्रेसलाई एकताबद्ध गर्दै नयाँ संकल्पसहित अघि बढाउने माध्यम हो’उनले भने ।
उनले भदौ २२–२३ पछिको राष्ट्रिय राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवन दुवै संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै बदलिएको समयअनुसार नयाँ योजना, दृष्टि र संकल्प आवश्यक भएकाले विशेष महाधिवेशन अपरिहार्य बनेको बताए । ‘आजको कांग्रेसले हिजोको सोच र कार्यशैलीबाट मात्र अगाडि बढ्न सक्दैन’, शर्माको भनाइ थियो, ‘यसैले विशेष परिस्थिति, विशेष निर्णय र विशेष महाधिवेशन आवश्यक भएको हो ।’
महामन्त्री शर्माले विशेष महाधिवेशनबाट कांग्रेस विभाजन हुन्छ भन्ने प्रचारलाई निराधार भ्रमको संज्ञा दिँदै यदि त्यस्तो अवस्था सिर्जना हुन खोजेमा सबैभन्दा पहिले आफू हलबाट बाहिरिने घोषणा गरे । ‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन’, उनले स्पष्ट शब्दमा भने, ‘यदि कसैले कांग्रेसलाई फुटाउने दिशामा लैजान खोजे भने म सबैभन्दा पहिले बाहिर निस्कन्छु, त्यसपछि सबै मिलेर त्यसलाई रोक्छौं ।’
विशेष महाधिवेशनको वैधानिकतामाथि उठेका प्रश्नको जवाफ दिँदै शर्माले नेपाली कांग्रेसको विधानको धारा १७ (२) उल्लेख गरे । उनका अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ, र यदि केन्द्रीय समितिले आवश्यक नठाने पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था विधानमै छ । ‘यो कुनै व्यक्ति वा समूहको मनपरी होइन, विधानले दिएको अधिकार र दायित्व हो, उनले भने ।
विशेष महाधिवेशन मागपत्रमा हस्ताक्षर नगरेका नेता–कार्यकर्ता पनि सहभागी हुन पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासामा महामन्त्री शर्माले स्पष्ट जवाफ दिए । ‘विशेष महाधिवेशन हस्ताक्षर गर्नेको मात्र होइन, नगर्नेको पनि हो’, उनले भने, ‘पार्टीका सबै तहका नेता–कार्यकर्तालाई भृकुटीमण्डपमा उपस्थित भएर आफ्नो विचार राख्ने अवसर हुनेछ ।’
उनले विशेष महाधिवेशनले पार्टीभित्र विमति राख्ने, बहस गर्ने र वैचारिक छलफल गर्ने संस्कृतिलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरेका छन् । विशेष महाधिवेशनले आगामी उम्मेदवारी दर्ता र आम निर्वाचनमा असर पार्छ कि भन्ने प्रश्नमा शर्माले उल्टै यसले कांग्रेसलाई थप मजबुत बनाउने दाबी गरे । ‘मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर उठेको कांग्रेसले निर्वाचनमा राम्रो परिणाम दिन्छ’, उनले भने, ‘विशेष महाधिवेशन कांग्रेसलाई चुनावी मैदानका लागि थप तयार बनाउनेछ ।’ महामन्त्री शर्माले अन्त्यमा सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर विशेष महाधिवेशन सफल बनाउन आह्वान गर्दै नयाँ संकल्प, नयाँ जागरण र नयाँ ऊर्जा सहित कांग्रेसलाई अगाडि बढाउने समय आएको बताए ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया