Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला: घोषणापत्र २०८१ सार्वजनिक


काठमाडौं  । समाजवादी प्रेस संगठन, नेपालले आफ्नो दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्दै घोषणापत्र २०८१ सार्वजनिक गरेको छ । संगठनले पत्रकारिताको स्वतन्त्रता, श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार क्षेत्रका विविध समस्याहरूबारे सरकारलाई स्पष्ट सन्देश दिएको छ ।

प्रेस स्वतन्त्रता र कानूनी व्यवस्था

भेलाले सामाजिक सञ्जाल नियमन विधेयक को विरोध गर्दै उक्त विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ । भेलाले नेपाल पत्रकार महासंघ तथा अन्य सम्बद्ध संघसंस्थासँग छलफल गरी विधेयकलाई संशोधन गर्नुपर्ने बताएको छ ।

संगठनभित्रको चुनौती र स्पष्ट सन्देश

घोषणापत्रमा केही आपराधिक मानसिकता भएका व्यक्तिहरूले संगठनलाई कुनै अन्य संगठनमा विलय गराउने षड्यन्त्र गरिरहेको आरोप लगाइएको छ । संगठनले यो षड्यन्त्रको घोर भर्त्सना गर्दै आफ्नो एकता कायम रहने जनाएको छ ।

सरकारको आलोचना

भेलाले संसदको हिउँदे अधिवेशन छलेर सरकारले ल्याएका अध्यादेशहरू लोकतन्त्र विरोधी, कानूनी राज्यको उपहास गर्ने र भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका हकहित

भेलाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवअधिकार र भ्रष्टाचार नियन्त्रणमा पूर्णतः असफल रहेको ठहर गरेको छ । साथै, समाचार प्रकाशनका कारण पत्रकारहरूलाई धम्की, हमला वा अन्य दमनका क्रियाकलाप नियन्त्रण गर्न सरकारलाई आग्रह गरिएको छ ।

श्रमजीवी पत्रकारहरूको नियुक्ति पत्र नपाउने, उचित पारिश्रमिक नपाउने, वेतलवी विदामा राख्ने, निष्काशन गर्ने जस्ता समस्याप्रति भेलाले गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चारगृहहरूलाई श्रम ऐनको परिपालना गर्न अनुरोध गरेको छ ।

नयाँ मिडियाको विश्वसनीयता र भूमिका

संगठनले सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाहरूप्रति सजग रहन आम नागरिकलाई आग्रह गरेको छ । मूलधारका सञ्चारमाध्यमहरूले सुशासन, विकास र समृद्धिको पक्षमा निर्भीकताका साथ भूमिका खेल्नुपर्ने भनिएको छ ।

महिला पत्रकारको सुरक्षा र लैङ्गिक समानता

लैङ्गिकमैत्री सञ्चारगृहको माग गर्दै भेलाले महिला पत्रकारमाथि हुने हिंसाजन्य क्रियाकलापको अन्त्य गर्न सरकारलाई कदम चाल्न आग्रह गरेको छ ।

साना मिडियाको संरक्षणको माग

कोभिड-१९ र आर्थिक मन्दीका कारण साना तथा स्वरोजगार मुलक मिडियाहरू बन्द हुने अवस्थामा पुगेको भन्दै भेलाले सरकारलाई नीति, योजना र कार्यक्रममार्फत संरक्षण गर्न आग्रह गरेको छ ।

संगठनको आह्वान

संगठनले नेपाली पत्रकारिताको वृहत् हित, कम्युनिष्ट तथा समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ । साथै, भेला सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ ।

लेखन समिति:

श्याम रिमाल (संयोजक), भरत पोखरेल, उत्तर बिष्ट, धनराज वास्तविक, रमा न्यौपाने रहेका छन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट