स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभाव रहेको र यसका लागि अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थप गर्ने प्रस्ताव स्वीकृत भएको हो । मन्त्री पौडेलले बीमा बोर्डका लागि अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए । बोर्डमा जनशक्ति अभावले गएको साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थप हुने अस्थायी जनशक्तिले चालू आर्थिक वर्षभित्र बाँकी दाबीमा मूल्याङ्कन कार्य सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ । अब ती अस्पतालले भोग्दै आएका समस्या समाधानमा सहजता ल्याउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया