निःशुल्क दिने भनेर घोषणा गरिएको हेमोफिलिया रोगको महंगो औषधि काठमाडौँ आइपुग्यो

काठमाडौँ, २३ वैशाख । निःशुल्क दिने भनेर घोषणा गरिएको हेमोफिलिया रोगको औषधि काठमाडौँ आइपुगेको छ।
हेमोफिलिया समस्या परेका नागरिकलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो। सम्झौताअनुसारको औाषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।
‘५ प्रकारका औषधि आएको छ’, उनले भने, ‘आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइनेछ।’
मन्त्रालयले संघीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ। यसका साथै सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ।
निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै विरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।
त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया शुरु भएको हो।
अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधि मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार विरामी रहेको अनुमान गरेको छ। २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया