‘एमाले महाधिवेशनले नयाँ विकल्प दिनुपर्छ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य रचना खड्काले पार्टीको आसन्न महाधिवेशनले नयाँ नेतृत्वको विकल्प दिनुपर्ने बताएकी छिन् । सोमवार सहयोगी मिडिया डिजी भिजन युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले पार्टीभित्र सम्मानजनक रूपमा आएका नेताहरूलाई सम्मानजनकै ढंगले विदाइ गर्न सकिने अवस्था नबन्नु विडम्बना भएको टिप्पणी गरिन् । सीपी मैनाली, झलनाथ खनाल, माधवकुमार नेपाललगायतलाई सम्मानजनक निकास दिनुपर्नेमा नदिएर पार्टीनेतृत्वले गलत गरेको नेतृ खड्को तर्क छ ।
खड्काका अनुसार, शीर्ष नेताहरूले नेतृत्व हस्तान्तरणको संस्कार स्थापित गर्न नसक्नु एमालेलाई नै सुदृढ हुन नदिने मुख्य कारणमध्ये एक हो । ती नेताहरू अभिभावकका रूपमा रहनुपर्ने व्यवस्था हुनुपर्नेमा उनको जोड छ । खड्काले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिनु ‘गलत निर्णय’ भएको समेत बताइन् । ‘यसले पार्टीभित्रको संस्थागत मूल्य, परम्परा र विधिमा प्रतिकूल प्रभाव पारेको छ’ उनको जिकिर छ ।
खड्काले प्रभावशाली महिला नेतृ अष्टलक्ष्मी शाक्य तत्कालीन समयमा प्राकृतिक रूपमा बाग्मती प्रदेशको मुख्यमन्त्री बन्नुपर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उनलाई नेतृत्व नदिनु पनि अन्यायपूर्ण भएको बताइन् । आफू पार्टीको ११औँ महाधिवेशनमा सचिव पदका उम्मेदवार रहेको बताउँदै अब पार्टीले युवापुस्तालाई अग्रभूमिमा ल्याएर नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्नेमा खड्काले जोड दिइन् ।
‘हरेक पुस्ताले आफ्नो शैलीमा कम्युनिकेशन गर्छ,’ उनले भनिन्, ‘त्यही पुस्तालाई अगाडि ल्याएमात्रै पार्टीले नयाँ लय समात्न सक्छ ।’ उनले आगामी महाधिवेशन एमालेका लागि केवल संगठनात्मक प्रक्रियामात्र नभई नेतृत्व परिवर्तन र सुदृढीकरणको निर्णायक मोड हुने पनि बताइन ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया