Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

आज ‘क्रिसमस डे’ पर्व मनाइदै


काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरूको महान पर्व ‘क्रिसमस डे’ आज मनाइँदैछ । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइष्टको जन्मदिन मनाउने परम्परा छ । क्रिसमसका अवसरमा आज चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

बाइबलमा येसु ख्रीस्टको स्पष्ट जन्म मितिबारे कुनै निश्चित लिपिबद्ध त छैन । तर, केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले भने आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन उनको जन्म इजरायलको वेथलेहेममा भएको भनेका छन् । एन्नो डोमिनीको काल प्रणालीको आधारमा येसु ख्रिस्टको जन्म इसापूर्व ७ देखि २ को बिचमा भएको हो भन्ने पनि उल्लेख गरिएको पाइन्छ । शान्त र चिसो मौसममा माता मरियमद्वारा बेथलेहेमा उनको जन्म भएको कथन छ ।

धार्मिक मान्यताअनुसार ईश्वरद्वारा मरियमको सपनामा के बताइएको थियो भने उनले एक खास बच्चाको जन्म दिनेछिन् जसको नाम येसु ख्रीस्ट प्रमेश्वरको पुत्र रहनेछ । यो भविष्यवाणी २५ मार्चमा मरियमलाई मिलेको थियो र नौ महिनापछि २५ डिसेम्बरमा येसुको जन्म भयो ।

बाइबलको नयाँ नियममा बताइएअनुसार येसु ख्रीस्ट जन्मनुभन्दा एक दिन पहिले मरियमको स्वर्गदूत गाब्रिएलले दर्शन दिएर स्त्रीहरूमध्ये तपाईं धन्य हुनुहुन्छ किनभने तपाईं ईश्वरीय पुत्रको माता बन्नका लागि चुनिनु भएको छ । यो सुनेर माता मरियम छक्क परेकी थिइन् । त्यसपछि मरियम र उनका लोग्ने योसेफ आफ्ना नाम दर्ता गराउन बेथलेहेम सहर गए । त्यहाँ बस्नका लागि उपयुक्त ठाउँ नमिलेपछि सहरदेखि एकान्त फलस्तिन चरन जग्गा नजिकै एक गुफामा रोकिए । त्यहीँ मरियमद्वारा येसुको जन्म भयो ।

जहाँ येसुको जन्म भयो त्यहीँ आज एक चर्च छ, जसलाई ‘चर्च आफ नेटिविटी’ भनिन्छ । यो आधुनिक इजरायलको राजधानी यरुसलेमदेखि दस किलोमिटर टाढा सेन्ट्रल वेस्ट बैंकमा अवस्थित छ । ख्रीस्ट प्रभुको जन्म एडी वानलाई पनि मान्ने गरिन्छ । यहीँबाट अंग्रेजी क्यालेन्डरको सुरुवात भएको हो भनिन्छ । क्रिसमस पर्वको खास मान्यता के छ भने संसारका मानिसहरूको पापलाई क्षमा वा मुक्त गराउनु हो । पाप रोक्नका लागि ईश्वरले आफ्नो एक मात्र पुत्र येसु ख्रीस्टलाई यस धर्तीमा पठाउनु भयो । यिनै ख्रीस्टले संसारभरिका मानिसहरूको पापलाई मुक्त गराउने उद्देश्यले प्रेम, विश्वास, शान्ति, धर्म, सत्य आदिको दिव्य उपदेश बाँड्ने क्रममा आफ्नो प्राण नै त्यागेको धर्मशास्त्र बाइबलमा उल्लेख छ ।

यिनले संसारका मानिसलाई प्रेम र भाइचाराको साथ रहन सन्देश दिएका छन् । येसु एक महान् धार्मिक केन्द्रीय व्यक्ति थिए । उनले समाजलाई प्रेम र मानिसहरूलाई शिक्षा दिएका छन् । यिनलाई इसाई धर्मका संस्थापक पनि मानिन्छ । यिनै इसाई धर्मका प्रवर्तक येसु ख्रीस्टको जन्मोत्सवको सम्मानमा डेसेम्बर २५ का दिन संसारभरि ‘क्रिसमस डे’ धुमधामका साथ मनाइने गरिन्छ ।

नेपालमा पनि येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । सोही कारण आज सरकारले सार्वजनिक बिदा दिएको हो । विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विशेष गरी विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो । दिवसकै अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो भने २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल ‘क्रिसमस ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेको बताइन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट