Techie IT
Samayabaddha
आईतबार, २७ पुस, २०८२

पहिलोपटक फेसबुकमा जोडिए प्रेस सेन्टरका संस्थापक अध्यक्ष दाहाल


 काठमाडौं । प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता महेश्वर दाहाल पहिलोपटक डिजिटल सामाजिक सञ्जाल फेसबुकमा जोडिएका छन्।

लामो समयदेखि सक्रिय पत्रकारिता र राजनीतिमा संलग्न रहँदै आएका दाहालले सामाजिक सञ्जाललाई अनावश्यक जञ्जाल ठान्दै आएका थिए। तर शनिबार उनले औपचारिक रूपमा आफ्नो फेसबुक खाता सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालबाट टाढा रहे पनि दाहाल डिजिटल सञ्चार माध्यममा भने निरन्तर सक्रिय थिए। उनले झिल्को अनलाइन समाचार पोर्टल सञ्चालन गर्नुका साथै विभिन्न अनलाइन माध्यममार्फत आफ्ना विचार र विश्लेषण सार्वजनिक गर्दै आएका थिए।

जनयुद्ध पक्षधर वरिष्ठ पत्रकार दाहालले तत्कालीन नेकपा (माओवादी) को सशस्त्र जनयुद्धका बेला प्रचार मोर्चाको नेतृत्व गरेका थिए। जनयुद्धको पक्षमा जनमत निर्माण गर्नु उनको प्रमुख जिम्मेवारी थियो। सोही क्रममा उनले जनयुद्धको आधार क्षेत्र रोल्पाको इरिवाङ पुगेर क्रान्तिकारी पत्रकार संगठनको निर्माण गरेका थिए।

पार्टीको केन्द्रीय नेतृत्वमा रहेर जिम्मेवारी सम्हाल्दै आए पनि उनी आजसम्म क्रान्तिकारी पत्रकारकै रूपमा परिचित छन्। जनादेश साप्ताहिक, जनदिशा दैनिक लगायतका सञ्चार माध्यमको नेतृत्व गरिसकेका दाहाल हाल समयवद्ध साप्ताहिक का सम्पादक छन्।

नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उनलाई सिन्धुली–२ बाट उम्मेदवारका रूपमा सिफारिस समेत गरिसकेको छ।

विचारमा स्पष्ट, स्वभावमा निडर र अनुशासनमा कठोर दाहाल सम्झौतावादीभन्दा संघर्षशील चरित्रका नेता मानिन्छन्। विवादबाट भाग्ने होइन, बहस र सामना गर्ने क्षमताका कारण उनी आवश्यक पर्दा नेतृत्वको आलोचना गर्न पनि पछि पर्दैनन्। नेतृत्वलाई खबरदारी र मातहतका संगठनलाई संरक्षण गर्ने उनको कौशलले उनलाई विशिष्ट पहिचान दिलाएको छ।

दाहाल सामाजिक सञ्जालमा सक्रिय भएसँगै अब उनका विचार, टिप्पणी र विश्लेषणहरू सहज रूपमा सार्वजनिक हुने सहकर्मी वरिष्ठ पत्रकार बलराम थापाले बताएका छन्। विशेषगरी सामाजिक सञ्जालमा सक्रिय पछिल्लो पुस्तालाई वैचारिक र क्रान्तिकारी रूपमा सचेत गराउन उनको उपस्थिति महत्वपूर्ण हुने विश्वास गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट