मोरङमा रास्वपाको क्लिन स्वीप, ठूला दल पराजित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो ।
मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् ।
मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन् ।
क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् । निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २५ हजार ३०० छ ।
क्षेत्र नम्बर ३ मा गणेश कार्की ३६ हजार ९२४ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा शर्माले २४ हजार ३ सय ५४ मत पाए, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरे ।
क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरे । घिमिरेले १२८१८ मत प्राप्त गरेका थिए ।
मोरङ क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१ हजार १९ छ ।
जिल्लाभरिमै सबैभन्दा धेरै मत क्षेत्र नम्बर ६ बाट रुविना आचार्यले प्राप्त गरेकी छिन् । उनले ५५ हजार ५१३ मत ल्याएर सानदार जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया