Techie IT
Samayabaddha
मंगलबार, २६ फागुन, २०८२

प्रतिनिधिसभा संसद् सञ्चालनको लागि अस्थायी हलको तयारी !


काठमाडौं । प्रतिनिधिसभाको वैठकको लागि संसद् परिसरकै बहुउद्देश्यीय हलमा सञ्चालनको तयारीमा सरकार जुटेको छ । निर्माणाधिन नयाँ संसद् भवन समयमा नै सम्पन्न नहुँदा प्रतिनिधिसभाका बैठक त्यहीँ परिसरमा रहेको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा बैठक नयाँ निर्माणाधीन संसद् भवन परिसरमै बस्ने भए पनि मुख्य सभाकक्ष निर्धारित समयमा तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए ।

सरकारले प्रतिनिधिसभाका निम्ति निर्माण गरिरहेको सभाकक्ष आउँदो चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर, पछिल्लो प्रगति हेर्दा उक्त मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको उनले जानकारी दिए । सहरी विकास मन्त्रालय र निर्माण व्यवसायीसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको उनले बताए ।

उनका अनुसार, उक्त हलमा प्रतिनिधिसभा सदस्यको शपथ गराउने र केही प्रारम्भिक बैठक सञ्चालन गर्ने गरी व्यवस्थापन भइरहेको छ । प्रतिनिधिसभाको सभाकक्ष निर्माण सम्पन्न भएपछि मात्र बैठक त्यहाँ बस्ने उनले बताए ।

उनका अनुसार, बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । केही प्राविधिक काम मात्र बाँकी छ । ती कार्य छिटो सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।

सचिवालयले नियमित रूपमा समन्वय, अनुरोध तथा स्थलगत अनुगमन गरिरहेको छ । बैठककक्षको अभावका कारण प्रतिनिधिसभा सदस्यको शपथग्रहण वा संसद् बैठक रोकिने अवस्था नआउने उनले स्पष्ट पारे ।

यसअघिका संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजानी गरिएको थियो । राष्ट्रियसभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ ।

“अहिले बहुउद्देश्यीय हलमा शपथग्रहण गराउने र प्रतिनिधिसभाका केही प्रारम्भिक बैठकहरू समेत बस्ने गरी कार्यसम्पादन भइरहेको छ । यो अस्थायी व्यवस्थापन हो,” उनले भने, “प्रतिनिधिसभाको सभाकक्ष निर्माण भइसकेपछि प्रतिनिधिसभाकै सभाकक्षमा बैठक बस्छ । तत्कालको लागि यो अल्पकालीन व्यवस्थापन गरिएको हो । बैठककक्षकै अभावमा शपथ रोकिने अथवा प्रतिनिधिसभाको बैठक नचल्ने भन्ने हुँदैन ।”

सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ । ०७९ साल असोज १६ गतेभित्र निर्माण गर्ने गरी ०७६ असोज १६ मा पाँच अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले कामको ठेक्का लिएको थियो । ०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

संसद् भवन निर्माणका निम्ति पाँचौँपटक थपिएको म्याद पनि सकिइसकेको छ । संसद् भवनको ‘रुफिङ’का निम्ति छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले ०८० फागुन २७ गते तीन करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

यस्तै, ‘इन्टेरियर’को ठेक्का केसी–श्यामसुन्दर–बानियाँ जेभीले दुई अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा लिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिए पनि काम पूरा भएको छैन ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट