नयाँ संसद्को अंकगणित : रास्वपा २ सिटले दुई तिहाइबाट टाढा, कुन दललाई कति सिट ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्को सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ र दुई तिहाइ बहुमत नजिक पुगेको देखिएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा करिब ५७ सिट प्राप्त गर्ने देखिएको छ। यससँगै उसको कुल सिट संख्या १८२ पुग्ने अनुमान गरिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्रै पछि परेको छ।
समानुपातिकतर्फ प्राप्त मतलाई ‘सेन्ट–लग फर्मुला’ प्रयोग गरी सिट बाँडफाँट गर्दा यस्तो प्रारम्भिक अंकगणित देखिएको हो। अन्तिम सिट संख्या भने निर्वाचन आयोग ले औपचारिक रूपमा सिट बाँडफाँट गरेपछि मात्र तय हुनेछ।
समानुपातिकतर्फ कुल १ करोड ७ लाखभन्दा बढी मतमध्ये रास्वपाले करिब ५१ लाखभन्दा बढी मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।
दोस्रो ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस ले समानुपातिकतर्फ करिब २० सिट पाउने देखिएको छ। प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने अनुमान गरिएको छ। यो अघिल्लो प्रतिनिधिसभामा रहेको ८९ सिटभन्दा निकै कम हो।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समानुपातिकबाट १६ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको कुल सिट संख्या २५ पुग्ने देखिएको छ। अघिल्लो संसदमा एमालेसँग ७९ सिट थियो।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकबाट ९ सिट र प्रत्यक्षबाट ८ सिट जितेकाले कुल १७ सिट हुने अनुमान गरिएको छ।
नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टी ले प्रत्यक्षमा ३ सिट जितेको छ भने समानुपातिकबाट ४ सिट पाउने देखिएको छ। यससँगै उसको कुल सिट संख्या ७ पुग्नेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षमा १ सिट र समानुपातिकबाट ४ सिट पाउने सम्भावना रहेकाले कुल ५ सिट हुनेछ।
यस निर्वाचनपछि समानुपातिक प्रणालीबाट सिट प्राप्त गर्ने ६ दल राष्ट्रिय दलको रूपमा रहने देखिएको छ। जसमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा रहेका छन्।
यता जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी भने तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेकाले प्रतिनिधिसभामा सिट प्राप्त गर्न असफल भएका छन्।
निर्वाचन आयोगका अनुसार अब प्राप्त सदर मतका आधारमा सिट बाँडफाँट प्रक्रिया अगाडि बढाइनेछ। सिट निर्धारण भएपछि दलहरूलाई समानुपातिकतर्फ बन्दसूचीबाट सांसद सिफारिस गर्न पत्र पठाइने र त्यसपछि आयोगले प्रमाणपत्र वितरण गर्नेछ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया