‘आफ्नो टाउकोमा फलामको हेलमेट लगाएर अरुको टाउकोमा मात्र आगो झोस्ने ?’: लोकेन्द्र विस्ट मगर
काठमाडौं । माओवादी केन्द्रका पूर्व नेता लोकेन्द्र विस्ट मगरले चुनावी समिक्षाका बारेमा नेकपाका संयोजक प्रचण्डले दिएको निर्देशनप्रति इंगित गर्दै कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्ञालमा आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो टाउकामा फलामको हेलमेट लगाएर अरुको टाउकोमा मात्र आगो झोस्ने कुरालाई नक्कली समीक्षा बताएका छन् । यस्तो समीक्षा र औपचारिकले के पार्टी पुनर्जीवित र पुननिर्माण होलान त ? भन्दै प्रश्न गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका विष्ट मगरले æत्यत्रो हार कुनचाहिँ मुख्य कारणले भयो भन्ने कुरो पत्ता लगाउनतिर फेरि पनि पार्टी र नेतृत्वहरु लाग्ने पारा आउँदैन जस्तो देखियो भन्दै छिपछिपे र झिनामसिना कुरा, कारण र तर्कहरुमै अल्झिने/
अल्झाउने विगतको पुनरावृत्ति अहिले पनि दोहोरिएको टिप्पणी गरेका छन् । उनले मेजर अप्रेसन गर्नुपर्ने विरामीलाई माइनर अप्रेसन गरेजस्तो भन्दै व्यङ्य गरेका छन् ।
उनले लेखेको शब्द जस्ताको जस्तै
आज दलहरुको चुनावी समीक्षा बारे थोरै कुराः–
ठूला राजनीतिक पार्टीहरु भर्खरै सम्पन्न चुनावमा क्लिन स्वीप अर्थात् अनपेक्षित हार बेहोर्न बाध्य भएपछि यतिखेर उनीहरू ‘निर्मम/गम्भीर समीक्षा’ गर्न लागेको सुनिन्छ । उनीहरु भन्छन् ‘हामी मरेका होइनौं, ढलेका मात्रै हौं’ ‘हामी धुलो टकटक्याउँदै उठ्छौं ।’ ‘घण्टीलाई भोट दिने पार्टी केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निस्कासित गरिन्छ ।’ यी सबै गर्न पाउने कुरो त भइगो, अधिकार नै हो । तर, त्यस्तो र त्यत्रो हार कुनचाहिँ मुख्य कारणले भयो भन्ने कुरो पत्ता लगाउनतिर फेरि पनि पार्टी र नेतृत्वहरु लाग्ने पारा आउँदैन जस्तो देखियो । छिपछिपे र झिनामसिना कुरा, कारण र तर्कहरुमै अल्झिने/अल्झाउने देखियो । मेजर अप्रेसन नगरेर माइनर अप्रेसन गरे जस्तो गरेर अर्थात् आफ्नो टाउकोमा फलामको हेलमेट लगाएर अरुको टाउकोमा मात्र आगो झोस्ने नक्कली समीक्षा र औपचारिकताले के पार्टीहरु पुनर्जीवित या पुनर्निर्माण होलान् त ??
त्यत्रा पार्टी एकतामा आएका पार्टीहरु कता गए, के भए ? के ती आधारहीन छाता मात्र थिए ? नेताहरूले पहिलो हुने घोषणा गर्नुभएको थियो । त्यो घोषणा आधारहीन र सतही नै रहेछ त ??
इतिहासको गम्भीर राजनीतिक हत्याकाण्ड मदन–आश्रित हत्याको नालीबेली अहिलेसम्म अत्तोपत्तो छैन । त्यत्रो दरबार–हत्याकाण्ड त्यत्तिकै सामसुम पारियो । गत भदौ २३–२४ को जेन–जी आन्दोलनको सरकार या राज्यलाई अलिकति पनि
सुइँको भएन/पाएन । कार्की आयोगको छानबिन प्रतिवेदन पनि कताकता लुकामारी गर्छ अझै !
फागुन २१ गते ‘सफलतापूर्वक सम्पन्न भएको भनिएको’ चुनावमा जित्ने र हार्ने दुबै पक्ष आश्चर्यचकित हुनेगरी तथा अचम्मै लाग्दो अनपेक्षित नतिजा कसरी र किन आयो ?? सूचना, तथ्यांक र रिपोर्टमा सबै पार्टी र नेताहरू आलु (शून्य) नै रहेछन् भन्ने प्रमाणिात हुने देखिन्छ ।
हाहा र हुहु गर्दै नाच्ने–गाउने अनि बोकि नसक्ने माला थाप्ने रमाइलोमा मात्रै रनभुल्ल भए यी महान् ठूल्ठूला पार्टी र नेताहरू ‘!! चील र स्यालको तालमेल नदेखे/नबुझेर कुखुरा हराएको मात्र देख्ने हुस्सु कुखुरापालक किसान जस्ता भए यिनीहरू ! आफ्नै पार्टीका नेता–कार्यकर्ताहरुको सुरक्षा हुँदैन अर्थात् ती नेता–कार्यकर्ताहरुको पार्टी र नेता/नेतृत्वहरूप्रति भोट दिनेसम्म्को पनि विश्वास हुँदैन/रहदैन भने यो राजनीतिले देश र जनतालाई पार लगाउला त ?? विषय धेरै गम्भीर छ है बुझम् सबैले, अरुको त के कुरा, यहाँ त आफ्नै विश्वास नहुने पो हो कि भन्ने भयानक ठूलो डर भयो !!
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया