Techie IT
Samayabaddha
सोमबार, १६ चैत्र, २०८२

ओली–लेखक पक्राउ प्रकरण: सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण रिटमा  सुनुवाइ हुने


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणमा आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुँदैछ ।

ओलीको तर्फबाट राधिका शाक्य र लेखकको तर्फबाट यशोदा लेखकले दायर गरेको रिटमा उनीहरूलाई कानुनविपरीत हिरासतमा राखिएको दाबी गरिएको छ । रिटमार्फत “व्यक्तिगत स्वतन्त्रता” उल्लंघन भएको भन्दै तत्काल रिहाइको माग गरिएको छ ।

तर, यसअघि नै जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। अदालतले अनुसन्धानका लागि हिरासत राख्न अनुमति दिइसकेको छ, त्यही अवस्थामा सर्वोच्चले हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न खडा भएको छ ।

यो विवादको जरो भने गत भदौमा भएको जेनजी आन्दोलनसँग जोडिएको छ । सो आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको आयोगको प्रतिवेदनकै आधारमा सरकार अघि बढेको देखिन्छ। सरकारको तर्क छ, कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको छ ।

तर, आरोपित सम्बद्ध पार्टी र केही कानुनका विज्ञहरुले समेत यस घटनालाई “राजनीतिक प्रतिशोध” को रूपमा व्याख्या गरिरहेका छन् ।

यसबीच सर्वोच्च अदालतको भूमिका निर्णायक बन्ने देखिएको छ। यदि अदालतले बन्दी प्रत्यक्षीकरणमार्फत तत्काल रिहाइ आदेश दिएमा प्रहरी अनुसन्धान प्रक्रियामाथि प्रश्न उठ्न सक्छ। उल्टो, रिट खारेज भएमा सरकारको कदमलाई कानुनी समर्थन मिल्नेछ ।

यस प्रकरणले एउटा गम्भीर प्रश्न उठाएको छ, नेपालमा कानून कार्यान्वयन स्वतन्त्र छ कि राजनीतिक प्रभावबाट निर्देशित ? आजको सुनुवाइले केवल दुई व्यक्तिको हैसियत तय गर्ने छैन, यसले नेपालको न्यायिक प्रणाली र लोकतान्त्रिक अभ्यासको विश्वसनीयतामाथि समेत दूरगामी प्रभाव पार्नेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट